परिचय

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । साविक चार गा.वि.स.हरु क्रमशः दार्सिङ्ग दहथुम, खिलुङ्ग देउराली, ढापुक सिमल भञ्ज्याङ्ग र बानेथोक देउराली मिलाएर यो नगरपालिकाको गठन भएको हो ।

वाइसे चौविसे राज्यकालमा प्रख्यात शाहवंशीय भीरकोटे राजाले चलाएको राज्यको नाम बाट नामाकरण गरिएको यस नगरपालिका स्याङ्गजा जिल्लाको करिब मध्य भागमा अवस्थित छ। ऐतिहासिक महत्व वोकेको पवित्र आँधिखोला यस नगरपालिकाको विच भागमा बगेका कारण सुन्दरता र शीतलता प्रदान गरेको छ भने सुन्दर पर्यटकिय सहर पोखरा र प्रसिद्ध धार्मिक स्थल लुम्विनीलाई जोड्ने सिद्धार्थ राजमार्गले सोही आँधिखोलाको किनारै किनार हुदै नगरवासीलाई सुगमता प्रदान गरेको छ ।